बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ: अध्यक्ष नेपाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्चिए सरकार दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले बजेटकै कारण सरकारमा समस्या आउन सक्ने बताएका हुन्।

सञ्चारकर्मीले को दुर्घटनामा पर्छ भनेर प्रश्न गरेका थिए। “सरकार दुर्घटनामा जान्छ,” नेपालले भने, “दुर्घटनामा नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ। चित्त बुझाउनुपर्छ, बेठीक भएको कुरालाई करेक्शन गर्नुपर्छ।” त्यसका लागि आफूले पनि प्रयास गर्ने उनको भनाइ थियो।

त्यसपछि सञ्चारकर्मीले यो सरकार ढल्छ त भनेर प्रश्न गरेका थिए। नेपालले जवाफ दिए, “यो सरकार ढल्न दिनु हुँदैन, जोगाउनुपर्छ। अघि बढाउनुपर्छ र यो गठबन्धनले पाँच वर्षसम्म देशको नेतृत्व गर्नुपर्छ।”

बजेट नसच्चिए सरकार ढलाउने योजनामा हुनुहुन्छ कि भनेर प्रश्न गरिएको थियो। त्यसको जवाफमा पूर्व प्रधानमन्त्री नेपालले भने, “ढलाउने योजनामा छैन भनौं ढुक्क होलान् फेरि। योजनामा छ भनौं निद्राहरण होला। कुनै कुनै कुरालाई रहस्यको गर्भमा राखिदिनुपर्छ।”

यसअघि पनि अध्यक्ष नेपालले आगामी आर्थिक वर्षको बजेट गोखरा, डडेल्धुरा र नुवाकोट केन्द्रित भएको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालको क्षेत्र भएकाले गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र भएकाले डडेल्धुरा र अर्थमन्त्री प्रकाशशरण महतको क्षेत्र भएकाले नुवाकोटमा बजेट केन्द्रित भएको उनको भनाइ थियो।