काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैंले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियो । तर‚ राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भने भएको थिएन ।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत गएका थिए ।उनी त्यहाँ १० दिन उपचार गराई वैशाख १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्केका थिए ।
उक्त अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भएको भन्दै परराष्ट्रले खर्चका लागि यसअघि अर्थको सहमति मागेको थियो । उक्त खर्च रकम स्वास्थ्य उपचारलगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्डबमोजिम खर्च गर्न भन्दै अर्थमन्त्रालयले परराष्ट्रलाई गत ११ गते सहमति दिएको थियो ।
उक्त सहमति अनुसार खर्च रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५, ०२,२७९ रुपैया निकासा गरिदिन परराष्ट्रले पत्राचार गरेको हो ।
पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपतिले पौडेलले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका थिए ।

