द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडौँ । सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कनु भएकाे छ।

भ्रमणका क्रममा उहाँले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गर्नुभएको थियो । सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।

नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको समेत अवलोकन गर्नुभएका उहाँले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गर्नुभयो । सिनेटर होलेनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७६औँ वर्षका अवसरमा दुई देशबीचको सम्बन्ध थप वृहत र सुमधुर बनाउने तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल भ्रमण गरेको उल्लेख गर्नुभयो । यसअघि सन् १९८० मा आफूले नेपालको भ्रमण गरेको स्मरण गर्दै उहाँले त्यस अवधिमा नेपालमा धेरै परिवर्तन र उपलब्धि भएको आफूले पाएको सुनाउनुभयो ।

सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक, आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गरेको उल्लेख गर्दै भ्रमण निकै राम्रो र फलदायी भएको बताउनुभयो । नेपालको कलिलो र जीवन्त लोकतन्त्र निकै महत्वपूर्ण भएको बताउँदै उहाँले अमेरिकाले नेपालको लोकतन्त्र सृदृढिकरणमा सदैव साझेदारी गर्दै आएको चर्चा गर्नुभयो । नेपाल भ्रमणपछि सिनेटर होलेनले श्रीलङ्का र माल्दिभ्सको भ्रमण गर्नुहुने बताइएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले ती राष्ट्रहरूसँग पनि द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गर्नुहुनेछ ।