‘हिमाल : हामीलाई जलवायु सङ्कटबाट कसले बचाउँछ ?’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ११ महिना अगाडि

काठमाडौँ, १६ मङ्सिर । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ । जलवायु परिवर्तनमा नेपालको खास योगदान नभए पनि क्षतिका हिसाबले ठूलो समस्यामा परेको छ । पानीका मूल क्रमशः सुक्दै गएका छन् । कहिल्यै बाढी नआउने मुस्ताङमा बाडीबाटै ठूलो क्षति पुगेको छ ।

मेलम्चीको बाढीका कारण भोग्नुपरेको क्षति र त्यसपछिको पुनः निर्माण तथा पुनःस्थापनाको काम अझै पूरा भइसकेको छैन । यी र यस्ता समस्याका बारेमा जानकारी गराउने, विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यतिबेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा पुगेको छ । प्रधानमन्त्री प्रचण्डले आज ‘हिमाल : हामीलाई जलवायु सङ्कटबाट कसले बचाउँछ ?’ विषयक उच्चस्तरीय छलफल सत्रलाई सम्बोधनसहित अध्यक्षता गर्नुभयो । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै छलफल सञ्चालन गरेको पनि यो पहिलो पटक हो ।

सो बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गर्नुभएको थियो । सो बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोडलगायत अन्तरराष्ट्रिय संस्थासँग आबद्ध विषयविज्ञद्वारा प्रस्तुतीकरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पारेको प्रभावबारे गम्भीर छलफल भएको थियो ।

जलवायु परिवर्तनका कारण पूर्वघोषित तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेटभन्दा माथि जान नदिने प्रतिबद्धता व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । विश्वव्यापी जलवायु परिस्थितिका बारेमा संयुक्त राष्ट्र महासचिव गुटेरेसले पटकपटक विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । गत महिना उहाँले नेपालको चारदिने भ्रमणमा जलवायु परिवर्तनका असर नजिकबाट नियाल्नुभएको छ ।

अन्नपूर्ण र सोलुखुम्बु पुगेर उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई नजिकबाट नियाल्दै यस सङ्कट समाधान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको थियो । जीवास्म इन्धनको अत्यधिक प्रयोग, बढ्दो कोइलाको प्रयोगका अलावा ग्रिन हाउस ग्यास उत्सजर्नका कारण प्राणीजगत्को साझा घरका रुपमा परिचित पृथ्वीले समस्या भोग्नुपरेको छ ।

त्यसमाथि जलवायु परिवर्तनको सङ्कट भोग्ने विश्वका केही देशहरुमध्ये नेपाल अग्रस्थानमा छ । प्रधानमन्त्री प्रचण्डले आज गर्नुभएको हिमालका मुद्दा विषयक सम्बोधनमा पनि पेरिस सम्झौता कार्यान्वयनको माग गर्नुभएको छ । सो सम्झौतामा ‘जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रुपमा घटाउने कुरालाई आत्मसात् गर्दै विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने’ उल्लेख छ ।

यसैगरी, खाद्य उत्पादनमा कमी हुन नदिने गरी जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई अनुकूलनका लगि क्षमता वृद्धि गर्ने र न्यून हरितगृह ग्यास उत्सर्जन तथा जलवायु समानुकूलनलाई प्रवद्र्धन गर्ने सम्झौतामा स्पष्ट छ । न्यून हरितगृह ग्यास उत्सर्जन तथा जलवायु समयानुकूल विकासमूलक कार्यप्रणालीअनुरुप लगानी प्रवाह गर्ने सो सम्झौताको मुख्य मर्म छ । सो सम्झौतामा जलवायु परिवर्तनबाट देखिने समस्या न्यूनीकरणका लागि पहिले नै चेतावनी दिने प्रणाली, आपत्कालीन तयारीका विषयलाई उत्तिकै प्राथमिकता दिइएको छ ।

अपूरणीय र अस्थायी प्रकृतिका हानिनोक्सानीका घटना, विस्तृत जोखिम मूल्याङ्कन तथा व्यवस्थापन, जोखिम बीमा सुविधा, जलवायु जोखिम व्यवस्था तथा अन्य बीमाजन्य समाधान, गैरआर्थिक नोक्सानी र समुदाय, जीविकोपार्जन र पारिस्थितिकीय प्रणालीको समानुकूलन जोड दिइएको छ । सन् २०२२ मा नासाको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार, यदि तापमान पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री माथि पुग्यो भने मानव उत्पन्न सङ्कटका कारण थप जोखिम देखिनेछ ।

सन् २०२३ लाई ‘अत्यधिक गर्मी’ को वर्षका रुपमा चित्रण गरिएको छ । यस वर्ष विश्वको तापक्रम पूर्व औद्योगिक औसतको तुलनामा करिब एक दशमलव एक डिग्रीले बढेको छ । अझै, विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने मार्गबाट अझै टाढा रहेको देखिन्छ । विश्वव्यापी औसत तापमान सन् दुई हजार एक सयसम्म दुईदेखि चार डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ । यदि त्यसो भएको खण्डमा चरम मौसम घटना निम्तने चेतावनी दिइएको छ ।