काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने, “नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्र्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।” हाम्रा कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका उनको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकामा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताए।
छलफलमा खानेपानीमन्त्री महेन्द्रराय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायतले आ–आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।
धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस्
यस्तै, प्रधानमन्त्री दाहालले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरून्त समाधान गर्न निर्देशन दिए । उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् । दैनिक १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पु¥याउने योजनासहित २८ दिनको एकीकृत कार्ययोजना निर्माण भई अहिले दुई सत्रमा काम भइरहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे। काठमाडौँ उपत्यकामा अहिले दैनिक २५ करोड लिटर खानेपानीको माग रहेकाले मेलम्चीबाहेक अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । मकवानपुरस्थित सिस्नेरी खोलाबाट एघार करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेकाले यसलाई तीव्रता दिन उनले सरोकारवाला निकायलाई आग्रह गरे।

