भक्तपुर, २० चैत।मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।
नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो । यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाउनुभएका उहाँले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताउनुभो । जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिनुभयो ।