गोरखा, ९ वैशाख। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ ।
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभो । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उहाँले बताउनुभयो ।
उहाँले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।
नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताउनुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।