आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडकाे बजेट प्रस्तुत

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , ५ महिना अगाडि

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोडअर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ ।

यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु ५२ अर्ब ३३ करोड व्यहोर्दा रु पाँच खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब १७ अर्ब ६७ करोड जुटाउने लक्ष्य राखिएको छ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने प्रस्ताव बजेटमा गरिएको छ । रासस