काठमाडाैं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो भने भक्तजनहरु बिहानैदेखि दर्शनका लागि लाममा बसेका छन् । काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी ‘बोलबम’ हरुको पनि भीड लागेको छ ।
साउन महिना र सोमबारलाई भगवान शिवको विशेष महिना र बार मानिन्छ । आज बिहानै स्नान गरि शिवालयमा पूजा एंव दर्शन गरेमा मनोकांक्षा पुरा हुने, अटल शौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
रातो, गेरुवा र हरियो पहिरनमा सजिएका भक्तजनले पाशुपत क्षेत्र भरिभराउ छ । यसवर्ष साउनमा चार वटा सोमबार परेको थियो । आज साउनको अन्तिम सोमबार भएकाले सोमबारे ब्रत बस्नेले गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी ब्रत समापन गरिन्छ ।