काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरे पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसकेकाे भन्दै त्यसप्रति सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
बिपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता व्यक्त गरे ।
उनले सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आदर्श राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे।
कार्यक्रममा बिपी ट्रस्टद्वारा हरेक वर्ष जस्तै यो वर्ष साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार द्वारिका श्रेष्ठलाई एक लाख एक हजार राशिको र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई ५१ हजार राशिको पुरस्कार अर्पण गरिएको छ।

