तेस्राे मुलुकमा बिजुली बेच्न बाटो खुल्याे
काठमाडाैं । नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता भएको हो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।
प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ । जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ ।
प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
यसअघि ४० मेगावाट बिजुली बिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेका थिए । त्यसपछि बिजुली खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल भएको थियो ।