काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँले रोमाञ्चक जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा काठमाडौँले विराटनगर किंग्सलाई एक विकेटले हराएको हो । विराटनगरले दिएको ११७ रनको लक्ष्य काठमाडौँले १८.१ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।
दिपेश कँडेल काठमाडौँको जितमा नायक बने । उनी ५ बलमा ११ रनसहित अविजित रहे । उनले एक–एक छक्का र चौका प्रहार गरे ।
यस्तै, प्रतिक श्रेष्ठले ३९, शंकर रानाले अविजित १६, राशिद खानले १४, जेरहार्ड इरास्मसले १२ तथा माइकल लेभिटले १० रन जोडे । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तीन तथा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोड्यो ।
उसका लागि राजेश पुलामी मगरले २५, दिपक बोहराले २०, स्कट इडवाड्रसले १५, बसिर अहमदले १३, निकोलस किर्तोनले १२ रन जोडे । यस्तै, उसले अतिरिक्त १२ रन पायो ।
बलिङतर्फ काठमाडौँका जेरहार्ड इरास्मसले तीन, दिपेश कँडेलले दुई तथा करण केसी, शाहब आलम र डान डाउथवेटले एक–एक विकेट लिए ।
जितसँगै काठमाडौँले प्लेअफको आशा जिवितै राखेको छ । विराटनगर भन यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ ।