एमालेको कारबाहीमा परे रावल, पाण्डे र तिमल्सिना

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २३ घण्टा अगाडि

काठमाडौं, १० पौष । भाटभटेनी सुपरमार्केटका सन्चालक मिन बहादुर गुरुङबाट पार्टी कार्यालयको लागी जग्गा दान लिनु नाजायज रहेको अभिब्यक्ति दिएका पार्टीका नेता भिम रावल, बिन्दा पाण्डे र उषा किरण तिमल्सिनालाई एमालेले कारबाही गरेको छ ।

पार्टीको आज बसेको सचिबालयको बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको छ । पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरिएको हो ।

त्यस्तै बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ।‘बुधबार बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ, तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ ।’

भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । बुधाबरको बैठकमा दुई नेतृको एक एक तह घटुवा गर्ने प्रस्ताव आएको थियो । तर, अन्तिममा जिम्मेवारीबाट निलम्बन गरिएको हो ।
यसअघि गत कात्तिक ४ गते बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय निर्माणका लागि प्राप्त भएको दाने जग्गाका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि दुवै नेतृले स्पष्टीकरण बुझाएका थिए । त्यसमै चित्त नबुझेको भन्दै दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

त्यस्तै पार्टीको आधिकारीक धारणाविपरीत सार्वजनिक रुपमा बोल्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर रावलले पार्टीमा स्पष्टीकरण बुझाएका थिएनन् ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुनेगरी गत असोज २५ गते भवनको शिलान्यस गरिएको थियो । च्यासलको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण थालिएको थियो । उक्त जग्गादेखि भवन निर्माणको जिम्मेवारी मीनबहादुरले लिएका थिए।