राष्ट्रपति पौडेलबाट सहकारीसम्बन्धी अध्यादेश जारी

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति पौडेलबाट अध्यादेश जारी भएसँगै अब सरकारलाई अध्यादेश कार्यान्वयनको बाटो खुलेको छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो । 

 “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ। अदालतमा विचाराधीन अन्य फौजदारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधबाहेकका मुद्दामा मिलापत्र, सहकारीको दर्ता र वर्गीकरण, व्यक्तिगत बचत तथा ऋणको सीमा, कर्जा सूचना केन्द्रमा आबद्धता, सहकारी कर्जा तथा सुरक्षण कोष स्थापनालगायत व्यवस्था पनि अध्यादेशमा छ।

अध्यादेशमा बचत फिर्ताका लागि विशेष व्यवस्था गरिएको छ। समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ ।