अरुणिमा नवप्रवर्तन प्रदर्शनी: दुई हजार बढीले गरे अवलोकन

Bhim Thapa News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा आयाेजित अन्तरविषयक अरुणिमा नवप्रवर्तन प्रदर्शनी २०८१ सम्पन्न भएकाे छ।

अरुणिमा मा.वि.प्राङ्गणमा भएकाे प्रदर्शनीमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले पाठ्यक्रममा आधारित भई किफायती एवं वातावरणमैत्री स्थानीय सामग्रीहरू प्रयोग गरेर सिर्जना गरेका बहुविषय क्षेत्रका १५० भन्दा बढी मौलिक सिर्जनाहरू राखिएका थिए ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, पूर्व प्रशासक श्री जनकराज ढुङ्गानालगायत सम्मानित अतिथिहरू, प्रतिष्ठानका गुठियारहरू, प्रहरी अधिकृतहरू, पूर्व विद्यार्थीहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी एवम् स्थानीय समुदायसहित दुई हजार जनाभन्दा बढीले उत्सुकतापूर्वक प्रदर्शनीको अवलोकन गरेका थिए।

अवलोकनकर्ताहरूबाट प्रदर्शनीमा समावेश भएका परियोजनाहरू उत्कृष्ट, सिर्जनात्मक तथा जीवनोपयोगी रहेको र अरुणिमा शैक्षिक प्रतिष्ठानले यस्तो शैक्षिक मेला हरेक वर्ष आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

विद्यार्थीहरूमा नवप्रवर्तनात्मक ज्ञान, सीप तथा क्षमताको अभिवृद्धि गर्ने उद्देश्य राखी उक्त प्रदर्शनीको आयाेजना गरिएकाे प्रिन्सिपल बुद्धि प्रसाद रेग्मीले जानकारी दिए ।