‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ७ महिना अगाडि

रुपन्देही । कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आफू मन्त्री बनिसकेपछि पटकपटक मन्त्रिपरिषद्मा यो विषय राखेको बताए । उनले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

‘नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ,’ मन्त्री अधिकारीले भने, ‘मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउँछ ।’ उहाँले आफू केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने जनाए ।

मन्त्री अधिकारीले गत वर्ष २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकामा यस वर्ष त्यसलाई बढाएर करिब २९ अर्ब पुर्‍याइएको जानकारी दिए । ‘वर्तमान समयमा १३ लाख टन मलको आवश्यकता छ । तर, हाम्रो बजेटले करिब साढे चार लाख टन धान्न सक्छ । चारको सट्टा आठ पुर्याउन सकियो भने पर्याप्त दिन नसके पनि अहिलेको तुलनामा केही बढी हुन्छ’, उनले भने ।

पूर्वदेखि पश्चिमसम्म पुग्दा पर्याप्त मल पाएनौँ भन्ने एउटै गुनासो आइरहेको बताउँदै मन्त्री अधिकारीले समस्या समाधानमा सरकार प्रयासरत रहेको उल्लेख गरे । फरक प्रसङ्गमा उनले रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नैपर्ने धारणा राखे ।