भक्तपुर। इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाका दिन (भदौ २२ गते) मध्यपुरथिमि–४, बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले जिब्रो छेडेर महाद्वीप (भेय्) बोकेर नवदुर्गा र दत्तात्रय मन्दिरको दर्शन गर्ने भएका छन्।
पछिल्ला दुई वर्ष पशुपतिनाथ मन्दिरसम्म जात्रा लिएर गएका श्रेष्ठ यसपालि भक्तपुरका प्रमुख मन्दिरहरू परिक्रमा गर्दै परम्परा जगेर्ना गर्ने उद्देश्यले जात्रामा सहभागी हुँदैछन्।
जात्रा दिउँसो ७ बजे दिगुटोल डबलीबाट सुरु भई बालकुमारी, थिमि, सल्लाघारी हुँदै भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर परिक्रमा गरी पुनः बालकुमारी फर्किनेछ। बालकुमारी मन्दिरमा सियो निकालेर जात्रा समापन गरिनेछ।
यो परम्परा थिमिमा भूतप्रेतको आतंक रोक्न प्राचीनकालदेखि चलिआएको विश्वास छ। करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जात्रालाई म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले संयोजन गर्दै आएको छ।
वीरेन्द्रभक्तले यसअघि २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेका थिए। जात्रा २०६३ मा रोकिएपछि २०७४ सालदेखि पुनः सुरु गरिएको हो।

