राजपा नेपालद्धारा निर्वाचन आयोगमा दल दर्ता,यथास्थितिमा निर्वाचनमा भने भाग लिन नसकिने स्पष्टोक्ति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२३ असार । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । राष्ट्रिय जनता पार्टीका शीर्षहरुले शुक्रबार अपरान्ह कान्तिपथस्थित आयोगको कार्यालय पुगी दल दर्ताका लागि निवेदन दिएका हुन । बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलहरु आवद्ध भई नयाँ दल बनेको राष्ट्रिय जनता पार्टी, नेपालले दल दर्ताको प्रक्रिया अघि बढाएको हो । पार्टीको विधान र घोषणा पत्रसहित दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको पार्टीका नेता महन्त ठाकुरले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेपनि यथास्थितिमा निर्वाचनमा भने भाग लिन नसकिने स्पष्ट पारेको छ । नेता ठाकुरले यथास्थितिमा निर्वाचनमा भने प्रवेश गर्ने अवस्था नरहेको अडान राखे । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग बमोजिम संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले दल दर्ताका लागि केही दिन अघि नै तयारी गरेको थियो । तर, विधानको प्रस्तावनामा नै गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान पार्टी नेता अनिल झाले राखेपछि दल दर्ताको काममा ढिलाई हुन गएको हो । निर्वाचन आयोगले निवेदन स्विकृत गरेपछि राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनेछ । दल दर्ताका लागि राजनीतिक दलहरुले पार्टीको विधान र घोषणा पत्रसहितको निवेदन निर्वाचन आयोगमा दिनुपर्ने कानुनी व्यवस्था छ ।