चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला,स्थानीयवासी हर्षित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो ।

शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको सबै भन्दा विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसीले शुक्रबार रातभर नाचगानसहित जाग्राम नै बसेका थिए ।

टिपतालादेखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा रु तीन करोड बढी खर्च भएको छ । राज्यको भन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिए  । उनका अनुसार रु दुई करोड ५० लाख बालुङ समाजले संकलन गरेको थियो ।