रत्ननगर (चितवन), ८ साउन । बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन ३ गतेबाट यहाँ विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । आजसम्म निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयवासीले बताएका छन् ।
जमिनमुनि गाडिएको तार सात स्थानमा गाँसिएको छ । सोमध्ये दुई स्थानमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि परियोजना हस्तान्तरण नहुँदा आफूहरुले हेर्न नपाएको नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।
परियोजनाले समस्या हेर्ने जिम्मा ठेकेदारलाई दिएकाले ठेकेदारको लापर्बाहीका कारण समस्या बेलैमा पहिचान हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन् ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबीका कारण असार ५ गतेदेखि अवरुद्ध भएको त्यहाँको विद्युत् सेवा २ सातापछि शुरु भएको थियो । त्यसको महिनादिन नपुग्दै फेरि समस्या देखिएको हो । जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याई सेवा शुरु गरिएको थियो ।

