रोल्पा, १९ साउन । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहो¥याएका थिए तत्कालीन राजासँग ।
पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्था आयो । राजा संवैधानिक भए । जनताद्वारा निर्वाचित प्रतिनिधि कार्यकारी प्रमुख भए । थवाङले त्यो मुद्दा उठाइरहेपनि राज्यको बेवास्थाका कारण २०४८ सालदेखि बाटो खन्ने काम कछुवाको गतिमा शुरुवात भयो । विसं.२०५२देखि जर्मन प्राविधिक सहयोग नियोग (जिटिजेड)ले बाटो निर्माण गर्ने जिम्मा लिएपछि भने थवाङबासीमा आशा पलाएको थियो ।
दशवर्षे सशस्त्र युद्धताका विदेशी लगानीका अधिकांश कार्यक्रम बन्देज गरिए पनि जिटिजेडलाई भने काम गर्न अनुमति दिइएको थियो ।सुलिचौरदेखि निकै सुस्त गतिमा अघि बढेको बाटो निर्माण कार्यले जिटिजेडको प्रवेशसँगै तीव्रता पायो । लामो समयसम्म निर्माण कार्य अघि बढे पनि सेरम गाविसको सिरक्याङ भिरमा गएर निर्माण कार्य रोकियो । जिटिजेडको निर्धारित परियोजना पनि सकियो । जनताले पुनः केही वर्ष काम गर्न जिटिजेडलाई आग्रह गरे पनि उसले म्याद नथपेपछि सुलिचौर थवाङको मोटर बाटो सिरक्याङ भिरमै आएर रोकियो ।
उत्तरी रोल्पाका थवाङ, उवा तथा पूर्वी रुकुमका साविक १५ गाविसका जनता मोटर बाटो जोडिएसँगै विकासको मूल प्रवाहमा समावेश भएको अनुभव गरेका छन् । जिल्ला सदरमुकामबाट घर पुग्नुभन्दा सयौँ किलोमिटरको दूरीमा रहेको राजधानी काठमाडाँै पुग्न कम समय लाग्दै आएकामा अब भने त्यो समस्याबाट मुक्त हुँदा खुशीको अनुभूति भएको थवाङका मौसम रोकाले प्रतिक्रिया दिए । रासस