सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२४ साउन । सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा भएको छ ।व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षणगरी तयार पारिएको प्रतिवेदनमा बेचविखनमा परेका महिला कामदारहरु दुतावासको शरणमा आउने गरेपनि सरकारकै संरक्षणमा दोषीमाथि कार्वाही भने नभएको पाइएको हो ।
आज(मंगलबार) समितिको बैठकमा प्रतिवेदन पेश गर्दै उपसमितिका सदस्य विनोद श्रेष्ठले मानव तस्करमा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न भूमिका खेल्नुको सट्टा परराष्ट्र मन्त्रालयले आफूसँग प्राप्त सूचना समेत लुकाई मानव तस्करीलाई सघाएको देखिन आएको स्पष्ट पारे । उनले खाडी मुलुकमा बेचबिखनमा परेका महिलाहरु दिनहुँ दुताबासको शरणमा आउने तर तिनीहरुलाई बेच्ने एक जना दलालमाथि पनि कार्वाही नहुने विडम्बनापूर्ण स्थिति उत्पन्न भएको पनि जानकारी दिए । उपसमितिले कतिपय महिलाहरु नेपालकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै सरकारी सेटिङमै खाडी मुलुक पठाउने गरेको पाइएको पनि स्पष्ट पारेको छ । ठूलो संख्यामा नेपाली महिलाहरु भारत लगायतका मुलुकबाट खाडी मुलुकहरु साउदी अरव, कतार, कुवेत, ओमान र संयुक्त अरव इमिरेटस पु¥याई बेचविखन हुँदै आएको छ ।

उपसमितिले दोहोरो श्रम सम्झौताका कारण पनि नेपाली कामदार माथि शोषण हुने गरेको पनि खुलाएको छ । त्यसैगरी घरेलु महिला कामदारहरुको अवस्था दर्दनाक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । उपसमितिका सदस्य श्रेष्ठले धेरैजसो महिला कामदारमाथि चरण शारिरीक यातना दिएको पाइएको पनि बताए । उनले शारिरीक, मानसिक र यौनजन्य हिंसाबाट नेपाली महिला कामदारहरु पीडित रहेको पनि बताए ।