त्रिशुलीको भेलमा सशस्त्रको विपद् व्यवस्थापन अभ्यास

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

कुरिनटार (चितवन), २ भदौ । सशस्त्र प्रहरी बल नेपालले त्रिशूलीको भेलमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरेको छ । यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी उद्धार गर्न सकिन्छ भनी परिकल्पना गरेर विहीबार उक्त अभ्यास सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम केन्द्र, कुरिनटार चितवनबाट परिचालित जनशक्तिले भदौको भेलमा त्रिशूलीमा बगिरहेका यात्रुको सकुशल उद्धारसँगै उपचार गरेको परिघटना प्रस्तुत गरेका थिए । पृथ्वी राजमार्गको नौबिसे–मुङ्लिन तथा नारायणगढखण्ड धेरै सडक दुर्घटना हुने क्षेत्र मानिन्छ । विगतमा यस क्षेत्रमा पटक–पटक धेरै ठूलाखाले सडक दुर्घटना भएका थिए ।

बाढीपहिरोका कारण त्रिशूली नदीमा बगिरहेको व्यक्तिलाई सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापनसम्बन्धी तालीम प्राप्त पौडीबाजले झोलुंगे पुलबाट डोरीको सहायताले हाम फालेर कसरी बचाउँछ भन्ने कहालीलाग्दो तर सफल दृश्यसमेत उक्त अभ्यासको क्रममा प्रस्तुत गरियो ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनसम्बन्धी एक हजार १२०, गोताखोर २२, अग्निनियन्त्रक ५७, आपत्कालीन खोज उद्धार ५७ जना निपूण जनशक्ति तयार गरिसकेको छ । प्राकृतिक विपत्तिको समयमा खोज तथा उद्धार गर्ने सन्दर्भमा हाल मध्यम खालको खोज तथा उद्धारको तयार गर्ने कार्यमा सशस्त्र प्रहरी लागिपरेको छ । सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकालगायत मुलुकका सात स्थानमा उद्धार सामग्रीसहित ५०÷ ५० जनाको विपद् व्यवस्थापन तालीम प्राप्त जनशक्ति उपकरणसहित तैनाथ गरिसकेको छ ।

फेवातालमा भएको डुंगा दुर्घटनादेखि जाजरकोटमा भएको बस दुर्घटनामा पनि सशस्त्र प्रहरी बलका जनशक्तिले आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् । सीमा सुरक्षा र दंगा नियन्त्रण गर्ने उद्देश्यले गठन भएको सशस्त्र प्रहरी बलले मुलुकका विभिन्न भागमा सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण जनचेतना कार्यक्रममा ५१० विद्यालय र १२४ समुदायका गरी एकलाख ५० हजार जनाभन्दा बढीको सहभागिता भइरहेको तालीम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक हरिशंकर बुढाथोकीले जानकारी दिनुभयो ।

खोज र उद्धारमा काविल सशस्त्र प्रहरीको जनशक्तिबाट भूकम्पको बेला भएको योगदानको सर्वत्र प्रशंसा भएको थियो । बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको अगुवाइमा २०७२ साल वैशाखमा भूकम्प गएको छ दिनपछि गोँगबु क्षेत्रमा घरले च्यापिएको अवस्थामा रहेका पेम्वा लामालाई सकुशल उद्धार गर्न सशस्त्र प्रहरी बल सफल भएको थियो । भूकम्पका बेला बलका २२ हजार जनशक्ति परिचालन भएका थिए भने २४५ जना पीडितको पुरिएको भौतिक संरचनाबाट जीवितै उद्धार गरेको थियो ।