नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  छन्  । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्  ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए  । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस