आजदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट राख्न सुरु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौँ, ५ भदौ ।  सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ ।
मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।

यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सो कार्य सम्पन्न हुँदा यसको लागत रु चार करोड ३७ लाख ८७ हजार ५०० अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तानी गरिने छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमो ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने हुँदा त्यसको प्रयोगपछि सवारीसाधन नं टाडाबाट समेत देख्न सकिन्छ । नं प्लेटमा अन्तर्राष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी छ । प्लेटको कडापन एच४१ र एच ४२ हुने र प्लेटको मोटाई ०.९८ एमएम हुनेछ ।

राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ, तल गाढा निलो रङ एनइपी, अक्षरमुनि लालीगुराँससहित नेपालको निसाना छाप हुनेछ । सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानूनी व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सो प्रणालीको शुभारम्भ गर्दै यातायात क्षेत्रमा सो प्रविधिको प्रयोगले नयाँ आयाम थपेकाले अब अन्तर्राष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन तथा विकास गर्न सकिने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मानवीय कमीकमजोरीलाई न्यूनीकरण गर्न यन्त्र तथा प्रविधिको खाँचो औँल्याउँदै जनतासँग प्रत्यक्ष जोडिएको सो मन्त्रालयले सेवाग्राहीलाई समयसापेक्ष सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे  । प्लेटको बायाँ छेउँको माथि नेपालको झण्डा र त्यसको तली देश जनाउने गरी एनइपी र लेखिएको छ, त्यसको मुनि सुरक्षात्मक होलोग्राम राखिएको छ । रासस