बाढीले बगाएर भारत पुरयाएको दोस्रो गैँडालाई पनि नेपाल ल्याइयो,अझै दुई वटा ल्याउन बाकी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

रत्ननगर (चितवन), ५ भदौ । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा पु¥याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपु¥याइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए  ।

आइतबार साँझ डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर भारतबाट पठाइएको गैँडा आज बिहान १ः३० बजे चितवन निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको पाठकले जानकारी दिनुभयो । यसरी भारतबाट उद्धार गरिएको यो गैँडा दोस्रो हो । बाढीले बगाएर थप दुई वटा गैँडा भारत पु¥याएको पाइएकाले निकुञ्जमा फर्काउन पुनः प्राविधिकसहितको टोली सो क्षेत्रमा परिचालन गरिएको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारका लागि खटिएका छन् । अर्यालका अनुसार थप दुई गैँडा उद्धार गरी ल्याउनका लागि डाट टोली तथा आवश्यक खोरसहित भारतमा छन् । चितवन निकुञ्जबाट बगाएकाले भारतको वाल्मीकि टाइगर रिजर्बका अधिकारीसँगको समन्वयमा गैँडाको उद्धार गरिएको हो । आज ल्याइएको उक्त गैँडा भारतको बस्ती भएको र केही झाँडी तथा वनमारा भएको क्षेत्रमा फेला परेको हो । उक्त गैँडालाई आजै निकुञ्जमा छाडिने जनाइएको छ ।