पत्रकारिताको गुणात्मक विकास आवश्यक : राष्ट्रपति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ६ असोज (रासस) ।राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउएकी छिन । उनले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गरिन ।

प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहमा उनले नेपाली प्रेसले पाएको अधिकार र उपलब्धिलाई सकारात्मक रुपमा सदुपयोग गरिनुपर्नेमा पनि जोड दिइन। सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम जिम्मेवार नभएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन, “अधिकारको दुरुपयोग गर्दा नकारात्मक परिणाम आउँछ, समाजमा स्वच्छन्दता र अराजकता उत्पन्न हुन्छ ।”

राष्ट्रपति भण्डारीले छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता, सत्य, तथ्य र सन्तुलन गुम्ने जनाउँदै राज्यका तीन अङ्गलाई निगरानी र सन्तुलनमा राख्ने प्रेसको जिम्मेवारी र उत्तरदायित्वलाई सामाजिक न्यायपूर्ण समाज स्थापनाको लक्ष्यका साथ पूरा गरिनुपर्ने बताइन ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार अराजक भएमा पेशा नै बदनाम हुने भएकाले प्रेस पास र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन नहुनेमा जोड दिए ।