पर्यटनमन्त्री र प्राधिकरण प्रमुखलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगकाे निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, १९ असोज । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए । प्राधिकरणका महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि आयोगमा सहमतिका लागि पत्र लेखेको देखिइ निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी काम गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यही असोज ९ गते पर्यटन मन्त्रालयमा गठन भएको कार्यदलमा काम गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मन्त्रालयको यो निर्णयलाई आयोगले स्वेच्छाचारी र बदनीयत भनेको छ ।
बैठकले राष्ट्रिय पुन निर्माण प्राधिकरणका कार्यकारी अधिकृतले विभिन्न स्थानमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । सार्वजनिक पदधारण गरेको व्यक्तिले कुनै दलविशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै आयोगले २४ घण्टाभित्र जवाफ पेस गर्न पुन निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्द पोखरेललाई स्पष्टीकरण माग गरेको हो ।