निर्माण व्यवसायी गौचनको हत्यामा संलग्नताको आशंकामा तीन जना पक्राउ,हत्याको जिम्मा मनोज समूहले लियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राजधानी बाट तीन जनालाई प्रकाउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको गरेको हो । उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले गौचनको हत्याराको विषयमा प्रारम्भिक जानकारी प्राप्त भइसकेको दाबी गरे । शर्माले घटनाको छानबिन गरी जतिसक्दो चाँडो हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताए । दिनदहाडै बाटोमा छेकेर गोली हानिएकोले नै घट्ना योजनाबद्ध तवर बाट भएको बताए ।दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ जादै गरेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई अज्ञात समूहले गोली प्रहार गरेका थिए। गौचन ड्राइभर नजिकै अगाडि सिटमा थिए। प्रत्यक्षदर्शीका अनुसार नयाँ बानेश्वरको खरिबोट अगाडी गौचन चढेको गाडी आइपुग्दा एक्कासी दुई जना आएर ड्राइभर बसेको ठाउँमा पहिले इँटा हानिएको र त्यसपछि गोली चलाएका थिए ।

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । गौचनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मृतकका आफन्त र व्यवसायीहरुले हत्यारालाई तत्काल पक्राउ गरि कावार्ही गर्नु पर्ने भन्दै नयाबानेश्वर क्षेत्रमा नारावाजी गरेका छन ।

निर्माण व्यवसायीहरूले दोषीलाई कार्वाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन । निर्माण व्यावसायीले भोलि देखि देश ब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।गौचन माथि गोली प्रहार गर्नेको थप खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए । अहिले समग्र राजधानीकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौंका सबै नाका शिल गरि दोषीको खोजी भइरहेको छ ।
यसैबिच, मनोज समुहले अज्ञात नम्बरबाट प्रहरीलाई टेलिफोन गरेर निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको हत्या आफूहरुले गरेको भन्दै जिम्मा लिएको छ । गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज समूहले नै गौचन हत्याको जिम्मा लिएको हो ।सोही समुहका सदस्यले काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समुहले गोली हानेको बताएका छन् । प्रहरीका अनुसार ‘अननोन’ नम्बरबाट फोन गरी ‘केही रकमको बिवाद थियो । दिन लोभ गरेका कारण हामीले हानेको हो’ भन्दै फोन राखेका थिए ।