लमजुङ, ९ कात्तिक । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो ।
यसअघि उदिपुर–भुलभुले १३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन गरिएको थियो । एक सय ३२ केभी लाइन निर्माणका क्रममा मुआब्जालगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएको समितिले सोही प्रक्रियामा २२० केभी निर्माण हुन लागेको भन्दै अवरोध गर्न लागेका हुन् । आफूहरूको पहिलाकै माग पूरा नभएकाले सो माग पूरा नभएसम्म काम अघि बढ्न नदिने संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले बताए। समितिले विद्युत् प्रसारण लाइनबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाइ र वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गर्न माग गरेको छ ।

