काठमाडौँ, २१ कात्तिक । वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र अाज सार्वजनिक गरेकाे छ।घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर जस्ता नारालाई समावेश गरेको छ । आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ ।
पाँच वर्षभित्र मुलुकको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिने परिवर्तनका सपनालाई घोषणापत्रमा समावेश गरिएको छ । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले मंगलबार वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।
गठबन्धनलाई भोट किन भन्दै कम्युनिष्ट पार्टीबाहेक देशका अन्य कुनै पनि पार्टीले राष्ट्र एवं जनताको सच्चा हितको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरिएको छ । घोषणापत्रमा नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व नेपाली कम्युनिष्टले मात्र गर्न सक्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका मूल प्रतिनिधि संस्था एमाले र माओवादी केन्द्र रहेको भन्दै घोषणापत्रमा निकट भविष्यमा एउटै एकीकृत पार्टी निर्माण गरी मुलुकको समृद्धिको यात्रालाई नयाँ उचाइमा उठाउने कुरा समावेश गरिएको छ । ‘कम्युनिस्ट एवं वामपन्थी शक्ति नै देशभक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाका लागि वामपन्थीको बहुमतको सरकार आवश्यक छ’, घोषणापत्रमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने संघर्षको मुख्य नेतृत्व र वाहक शक्ति वामपन्थी नै भएकाले परिवर्तनको मूल मर्म एवं भावसहित नेपालको संविधान पालना गर्न र गराउन पनि संसद् तथा सरकारमा वामपन्थीको बहुमत आवश्यक रहेको उल्लेख गरिएको छ । नेपाली स्वरुपको लोकतन्त्रको प्रयोगबाट ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख’ सामाजिक–आर्थिक रुपान्तरणलाई सफल पार्न कम्युनिष्ट तथा वामपन्थीबाट मात्रै सम्भव रहेको स्पष्ट पार्दै स्थिर सरकारका लागि वामपन्थीको नेतृत्व अपरिहार्य रहेको घोषणापत्रमा समावेश छ ।
छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा विगतमा आफूहरुलाई नेपाली जनताको सामु सही साबित गरेको स्पष्ट पार्दै घोषणापत्रमा लामो समयदेखिको विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, सन्तुलित परराष्ट्र नीति तथा लगानीको वातावारण बनाउनेदेखि समृद्ध नेपाल निर्माणका लागि भएका कामकारवाहीले पनि कम्युनिष्ट नेतृत्वको सरकार आवश्यक रहेको जनाइएको छ ।
राजनीतिक स्थायित्व, दिगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै निम्ति सबै कम्युनिष्ट पार्टी र वामपन्थी लोकतन्त्रवादीलाई एकताबद्ध गर्ने ऐतिहासिक कामको थालनी भएकामा खुशी व्यक्त गर्दै वामपन्थी गठबन्धनले घोषणापत्रमा भारतको अघोषित नाकाबन्दी जस्ता संकटका घडीमा राष्ट्रको नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमानको रक्षा गरेर आफूलाई व्यवहारमा प्रमाणित गरिसकेको स्पष्ट पारेको छ । गठबन्धनले प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसलाई ‘मुख्य रुपमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने, विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित रहेको शक्ति’का रुपमा टिप्पणी गरेको छ ।

