भरतपुर १९ को घटना इतिहासकै दुर्भाग्यपूर्णः अध्यक्ष दाहाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 चितवन, २६ कात्तिक।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन ।

आज साँझ पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुनेमा जोड दिए । “वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, १९ नं वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ”–दाहालले भने, “त्यस्ता घटना दोहोरिन दिनु हुन्न ।” स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थल मै मतपत्र च्यातिएको थियो । त्यसपछि यहाँ पुनः मतदान भएको थियो ।
चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय रहेका दाहालले आज चितवन निर्वाचन क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव समेत दिए ।