काठमाडौँ, २१ मंसिर । अाज हुने दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गरे ।
सुरक्षाको प्रत्याभूति दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई योजनाबद्ध तवरले सशक्तरुपमा परिचालन गरिएको उनले बताए । गृहसचिव सापकोटाले निर्वाचन विरोधी गतिविधिलाई निस्तेज र नियन्त्रण गर्न सरकार लागिरहेको बताए ।
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ ।
निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिए । यस्तै निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको गृहले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।
अनुमति लिएकाबाहेक सवारीसाधन चलाउन नपाइने
निर्वाचन हुने जिल्लामा अाज सार्वजनिक र निजी सवारीसाधन चलाउन नपाइने गृहले जनाएको छ । अत्यावश्यक सेवाका सवारी र अनुमतिपत्र भएका सवारी भने चलाउन पाइने छ । बुधबार राति १२ बजेदेखि अाज साँझ ७ बजेसम्म सवारीसधान चलाउन नपाइने गृहले स्पष्ट पारेको छ । यस्तै निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिइएको गृहले जनाएको छ ।
निर्वाचनको सुरक्षा तयारी पूरा – प्रहरी
यसैबीच, नेपाल प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनको सुरक्षा तयारी पूरा भएको र निर्वाचन विरोधी गतिविधिमा संलग्न करिब एक हजारलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६००, सिके राउत समूहका १३ र अन्य समूह तथा व्यक्ति ३५५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
यस्तै, ६१ थान हातहतियार, २८३ थान गोली, दुई हजार १८८ थान डेटोनेटर, बारुद १२ किलो, पटाका, जिलेटिनलगायत सामाग्री बरामद गरिएको उनले बताए । उनका अनुसार मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको छ ।

