आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान गरेकी छिन। ।

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा आज जारी गर्नुभएको सन्देशमा उनले नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै आगामी माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको स्मरण गरिन ।

“यसै सिलशिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ,” सन्देशमा राष्ट्रपतिले भनेकी छिन ।

यो निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो भन्दै उहाँले सन्देशमा नेपालको संघीय संरचनाअनुसार हुने पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन अनुरोध गर्नुभएको छ ।