धनगढी, २६ मंसिर । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन । आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी (गरिमा) शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)की शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरेका छन ।
प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए । दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै अाएका छन । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो । (रासस)

