काठमाडौँ, २२ पुस । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहनुभएका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका लगायतको संस्थागत सहभागिता रहेको थियो । सो अवसरमा घरदैलो जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको सफाइ अभियन्ता एवम् अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।
सफाइमा ३० संस्थाका ८०० भन्दा बढी अभियन्ता सहभागी थिए ।