ललितपुर, २३ पुस । छ महिनासम्म बुङ्मतीमा रहेको मत्स्येन्द्रनाथलाई पाटन ल्याइएसँगै जात्राको तयारी शुरु भएको छ । रथका लागि आवश्यक काठ, बेत, बाँसलगायत ठेक्का गर्ने, काट्ने, ल्याउने काम भइरहेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “काठ, बेत ल्याएपछि सम्बन्धित जातिले काट्ने काम हुनेछ ।” मङ्सिर महिनामा मत्स्येन्द्रनाथ पाटन ल्याइएपछि केही पर्व त्यही महिनामा परे पनि पुस महिनामा भने पर्दैन । माघ महिनामा धेरै खालका पर्व हुनेछन् ।
ललितपुरको देवीचौरबाट धमा(रथको अघिल्लो पांग्राको काठ) का लागि काठ काटिसकिएको छ । अरु आवश्यक काठ गोदावरीको जंगलमा छपान भइसकेको प्रमुख पौडेल बताउनुहुन्छ । माघ महिनामा बोसीलाई काट्न पठाइनेछ । बेत भने भारतबाट ल्याइनेछ । भारतबाट बेत ल्याउनका लागि पाँच वर्षको ठेक्का भइसकेको छ । उहाँ भन्नुहुन्छ, “केही समयमा बेत पनि नेपाल भित्रनेछ ।” साइत हेरेर बाराही जातिले काठ काट्ने गर्छ । काठका लागि विभिन्न स्थानका जंगलमा पुग्नुपर्छ । कुनै ललितपुरकै जंगलमा त कुनैका लागि तराई र कुनै भारतबाट ल्याउनुपर्छ ।

