काठमाडौँ, २४ पुस । ‘दक्षिण एशियामा मानवअधिकारको अवस्था र दण्डहीनताको अन्त्य’ विषयमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आगामी चैत २६ देखि २८ गतेसम्म सम्मेलन हुने भएको हो । सम्मेलनमा दक्षिण एशियाको मानवअधिकारको अवस्था र दण्डहीनताका बारेका विभिन्न पाँचवटा कार्यपत्र प्रस्तुत गरिने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सहित वर्मा, फिलिपिन्ससहित अन्य राष्ट्र पनि पर्यवेक्षकका रुपमा आउने भएको उहाँले जानकारी गराउनुभयो । काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनमा विदेशबाट करिब ४५ जनाको सहभागिता हुने भएको छ ।
यसैबीच, आयोग र दातृ निकाय संस्था गभर्नेन्स फेसिलिटी नेपालबीच सम्मेलनमा सहकार्य गर्नका लागि आज सम्झौता भएको छ । आयोगका अध्यक्ष अनुपराज शर्मा र फेसिलिटी नेपालका तर्फबाट कार्यक्रम प्रमुख क्यारोलिन भन्डेनाविलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।