एमालेले राष्ट्रियसभाकाे उम्मेदवारका लागि ताेक्याे यस्ताे मापदण्ड ….

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २८ पुस ।नेकपा (एमाले) केन्द्रीय सचिवालयको आजको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिशको विधि तय गरेको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो । आगामी माघ २४ गते हुने सो सभाको निर्वाचनका लागि एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्नेछ ।

यस्तै स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ । उम्मेदवारी सिफारिशका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्डअनुसारको नाम सिफारिश गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।