प्रदर्शन हिंसात्मक बन्दै गएपछि धनकुटामा निषेधाज्ञा जारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

धनकुटा,४ माघ । धनकुटामा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि आज दिउँसोदेखि लागु हुने गरी प्रशासनद्वारा अनिश्चितकालिन निशेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्वमा बिहीबारे हाट, पश्चिममा लोकसेवा, उत्तरमा स्कुलडॉडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ। निषेधित क्षेत्र घोषणा भएपछि सडकमा समूहमा हिँड्डुल गर्न नपाइने सूचना जारी भएपनि प्रदर्शनकारीले उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन्।

सरकारले प्रादेशिक अस्थायी मुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित धनकुटावासी आन्दोलनमा उत्रिएका हुन। सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निशाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको थियो। पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएको छ।

आगजनीबाट कार्यालयको कम्प्युटर शाखामा क्षति पुगेको छ। करिब २० मीनेट पछि मात्र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।यस्तै प्रदर्शनकारीले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि क्षति पुर्‍याएका छन्। अदालतको साइनबोर्ड झिकेर फालिएको छ भने कार्यालयका सिसा फुटाइएका छन्। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आगजनी प्रयास गरिएको छ। कार्यालयभित्र राखिएको सरकारी नंबर प्लेटको को १ ब १०६४ नंबरको मोटरसाइकलमा आगजनी भएको छ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबिच धनकुटा बजारस्थित भीमनारायण चोकमा पटक पटक झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।