काठमाडौं,१० माघ । काठमाडौं उपत्यकासहित मुलुकका केहि भागमा आज वर्षा भएको छ।सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले उपत्कामा पानी परेको मौसम विज्ञान विभागले जनाएको छ। राजधानीको नजिकैको डाँडा शिवपुरीमा पनि हिउँ परेको छ । उपत्यकाका चार अग्ला डाँडा मध्ये शिवपुरी एक हो । यो जतिकै अग्लो डाँडा फुल्चोकी, नागार्जुन र नगरकोटमा प्राय प्रत्येक बर्ष हिउँ पर्ने गरेको छ ।
विभागका अनुसार उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ। मंगलबार देशको सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय वायु नेपाल प्रवेश गरेको हो।
मध्य क्षेत्रमा सक्रिय पश्चिमी वायु क्रमश पूर्वतर्फ सरिरहेकाले पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ। यो वर्षालाई हिँउदे वर्षा पनि भनिन्छ। गत बर्ष भन्दा यस वर्ष केही समय ढिला गरेर पानी परेको हो। गत बर्ष झन्डै एक महिना अघि वर्षा भएको थियो।
ढिलै भए पनि माघको करिव दोस्रो हप्तामा परेको यो वर्षा र हिमपातले किसानलाई भने राहत मिलेको छ। पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ।

