राष्ट्रियसभा निर्वाचनमा ८३ जनाको उम्मेदवारी,१७ सदस्य निर्विरोध(नामसहित)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाण्डौ,१० माघ ।आगामी माघ २४ गते हुने मतदानबाट निर्वा्चित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु आज निर्विरोध निर्वा्चित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।
राष्ट्रियसभा सदस्यका लागि भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । आज सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८–८ वटै सिटमा चुनाव हुनेछ ।
राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वा्चित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ । प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ३ र ४ मा सबै ८–८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वा्चित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोध लगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वा्चित भएको घोषणा हुनेछन् ।
प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।
प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३–३ सदस्य निर्विरोध निर्वा्चित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध निर्बाचित हुनु भएको छ । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।
यता, निर्वाचन कार्यालयले आरक्षण सिटमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरुलाई निर्विरोध भएको घोषणा नगरिने जनाएको छ । यसको प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।