काठमाडौँ, २१ माघ । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ ।
मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा काठमाडौँभन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताउनुभयो । स्वास्थ्यका दृष्टिले काठमाडौँभन्दा लुम्बिनी बढी जोखिममा परेको देखिएको छ । विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुुलुकभर १२ स्टेशन स्थापना गरेको छ । त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा (तीन वटा) छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ ।
वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ ।

