अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

बागलुङ, २ फागुन । अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए ।

परिचपयपत्र नआए पनि मन्त्रालयले अति गरिबको सूचीमा राखेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो । “लक्षित वर्ग नै बीमाको सुविधाबाट छुटेपछि मन्त्रालयले तयार गरेको सूचीका आधारमा सेवा दिइरहेका छौँ” संयोजक खरेलले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा अति गरिब परिवारलाई मात्र निःशुल्क सेवा उपलब्ध गराइएको छ ।

गरिब परिचयपत्र वितरण हुनासाथ सबैखाले गरिब परिवारको स्वास्थ्य बीमामा सहज पहुँच पुग्ने संयोजक खरेलको भनाइ छ । प्रदेश नं ४ का ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वषदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । बागलुङमा हालसम्म पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जना सदस्यको स्वास्थ्य बीमा भएको छ ।