रुपन्देही,९ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उहाँले सो कुरा बताउनु भएको हो । मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो रहेको उहाँको भनाई थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जीत हासिल गरे पनि त्यसले देशलाई निकाश दिन नसक्ने उल्लेख गर्र्दै केही वर्ष सत्तामा हालीमुहाली गरे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको आरोप लगाउनुभयो ।
फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने सो पार्टीका प्रदेश नं ५ का संयोजक दानबहादुर चौधरीले बताउनुभयो । नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले स्टेजमा राखिएको बोधि वृक्षमा जल सिंचित गरेर संघीय परिषद्को चौथो बिस्तारित बैठक उद्घाटन गरिएको थियो ।

