काठमाण्डौ,२० फागुन । राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आज विशेष अदालतमा उपस्थित भएका थिए । अदालतले शर्मालाई ४ करोड बराबरको भ्रष्टाचार मुद्दामा ४५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेसँगै उनी रकम बुझाएर छुटेका हुन् ।
विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो । विशेषले माग गरेको धरौटी रकम शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकको बैंक ग्यारेन्टी बुझाएका विशेष अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शर्माको विशेष अदालतमा रहेको यो दोस्रो मुद्दा हो ।
यसअघि कर फर्स्यौट आयोगको सदस्य–सचिव रहँदा १ अर्ब राजश्व हिनामिना गरेको अभियोगमा दायर गरिएको भ्रष्टाचार मुद्दामा पनि उनी धरौटी बुझाएर तारेखमा मुद्दा लडिरहेका छन् । उक्त मुद्दामा उनी १ करोड धरौटीमा रिहा भएका थिए ।