उदयपुर, २८ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना आफ्नो कर्तव्यपथमा अडिग रहेर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सधैँ तयार रहेको बताउनुभएको छ । उदयपुरस्थित नेपाली सेनाको १८ नं बाहिनी भुल्केमा आज आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हाम्रो परम कर्तव्य रहेको बताउँदै राष्ट्रहित विपरीत हुन सक्ने आन्तरिक तथा बाह्य चुनौतीको सिलसिलामा नेपालको संविधानबमोजिम सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नु भयाे ।
पुर्खाले आर्जेको सुनौलो तथा गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सधैँ कटिबद्ध छौँ भन्दै परिवर्तित राज्य व्यवस्थालाई आत्मसात् गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपू सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित भएको बताउनुभयो ।
खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपूहरु सहभागिता रहेको यो सम्मेलनमा भूपूमध्ये ९१ वर्षीय रत्नबहादुर कटुवाललाई प्रधानसेनापति क्षत्रीले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । एक हजार ३२० भूपू सैनिकको उपस्थिति रहेको सम्मेलनमा एक हजार ३८ भूपू सैनिकको स्वास्थ्य परीक्षण गरिएको थियो । सम्मेलनका क्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नाका साथै लघुवित्त कार्यक्रम सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको थियो । सम्मेलनका क्रममा पूर्व पृतना मातहतका गणबाट ओखलढुंगा, खोटाङ, उदयपुर र सोलुखुम्बुको विविध सांस्कृतिक वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

