जनताका गुनासो सम्बोधन गर्नका लागि सञ्चालित हेलो सरकारका सेवा बन्द

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २ चैत । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिनुभयो ।

सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो । हेलो सरकार सञ्चालन गर्नका लागि खटिएका क्षेत्रीय प्रशासक कार्यालयका कर्मचारी प्रदेश कार्यालयमा गएपछि हेलो सरकार सेवा सञ्चालन प्रभावित भएको हो ।

विसं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा शुरु गरिएको थियो भने अन्तिममा दिपालयमा शुरु गरिएको थियो । ती ठाउँबाट हेलो सरकारमार्फत गुनासो सम्बोधन नभएपछि त्यहाँका गुनासो सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारबाट नै सम्बोधन हुने गरेको छ । प्रमुख उपाध्यायले सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षबाट प्रदेशस्तरमा हेलो सरकार पुनःसञ्चालन हुने बताउनुभयो ।