काठमाडौँ, ५ चैत ।सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।
तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ ।
सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “सरकारी साधनको दुरुपयोगविरुद्ध कडाइका साथ कारबाही गर्न मन्त्रालय दृढ छ ।”
सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ । यस्ता कार्यबाट जनतामा तत्काल परिवर्तन र राहतको अनुभूति गर्ने वातावरण सिर्जना हुने सरकारको अपेक्षा छ ।
Copyrights © 2025 All Rights Reserved by Newsbanknepal

