सुरुङ्गा, झापा, ६ चैत ।कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिर्नुभएको छ ।
बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो ।
राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए ।
यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ । गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । रासस

